काठमाण्डौ । भारतको उत्तर प्रदेशस्थित कानपुरमा बिहीबार प्रशिक्षण उडानमा रहेको विमान दुर्घटनाग्रस्त हुँदा प्रशिक्षक र प्रशिक्षार्थी पाइलटको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार कानपुरका वरिष्ठ प्रहरी अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन्। प्रहरी कमिश्नर रघुबीर लालका अनुसार गर्ग एभिएसनद्वारा सञ्चालित इटालीमा निर्मित टेकनम विमानले बिहीबार बिहान करिब ११ः३० बजे उडान भरेको थियो।
उडान भरेको करिब २० मिनेटपछि विमान कानपुरको कटरी क्षेत्रअन्तर्गत नाथापुरवा गाउँनजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। विमान गंगा नदी किनार क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ।
दुर्घटनामा गुजरात निवासी प्रशिक्षक पाइलट सचिन भाटिया र कर्नाटक निवासी प्रशिक्षार्थी पाइलट अभिषेक पुजारीको मृत्यु भएको हो।
प्रहरीका अनुसार सचिन भाटियासँग करिब ३ हजार घण्टाको उडान अनुभव थियो। दुर्घटनाको वास्तविक कारण भने तत्काल खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।