काठमाण्डौ । एलपी ग्यास उद्योग संघ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संघले बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोकलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
संघका अनुसार बाढीबाट केही नागरिकको ज्यान गएको, केही बेपत्ता तथा घाइते भएको र सर्वसाधारणका घरबस्ती, उद्योग, व्यवसाय, सडक, पुल, जलविद्युत् आयोजना, यातायातका साधनलगायत महत्वपूर्ण भौतिक संरचनामा क्षति पुगेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबाट भइरहेको सक्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्ने संघले जनाएको छ।
संघले आफ्ना सदस्य उद्योग, व्यवसायी, सञ्चार क्षेत्र तथा आम नागरिकलाई समेत विपद्बाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न आह्वान गरेको छ।
यसैगरी, प्रभावित क्षेत्रमा एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या उत्पन्न हुन नदिन सम्बन्धित उद्योगी, व्यवसायी तथा बिक्रेतालाई आवश्यक समन्वय र सहकार्य गर्न संघले आग्रह गरेको छ।
संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन संघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।