काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार तथा उपचारका लागि औषधिसहितको प्राविधिक टोली परिचालन गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएपछि मन्त्रालयले पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षा सुनिश्चित गर्न प्राविधिक टोली खटाएको हो।
मन्त्री गीता चौधरीको निर्देशनमा परिचालन गरिएको टोलीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार पशुपन्छीको उद्धार तथा उपचार गर्ने मन्त्रालयले जनाएको छ।
यसैबीच, पशु सेवा विभागले विपद्को समयमा पशुपन्छीको संरक्षण तथा उपचारका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, पेशागत संघ–संस्था, उद्यमी तथा व्यवसायी, पशु कल्याणसम्बन्धी संस्था, निजी पशु सेवाकर्मी र नागरिक समाजलाई सहकार्य गर्न आह्वान गरेको छ।
विपद्का कारण प्रभावित क्षेत्रमा पशुपन्छीको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण तथा मृत पशुपन्छीबाट रोग फैलिन नदिन सुरक्षित व्यवस्थापन र जैविक सुरक्षामा विशेष ध्यान दिनुपर्ने विभागले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।