काठमाडौं। रसुवा, नुवाकोटसहितका जिल्लामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन भएको छ।
अर्थ मन्त्रालयले उपलब्ध गराएको भदौ १२ गतेसम्मको विवरणअनुसार कोषमा विपत्तिअघिको मौज्दातसमेत जोड्दा कुल रकम ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ पुगेको छ। विपत्तिअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ थियो।
भदौ ११ गतेसम्म विपत्तिपछि संकलित रकम १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ थियो। यस आधारमा एकै दिन कोषमा थप २ अर्ब ४६ करोड २२ लाख १ हजार ३४१ रुपैयाँ जम्मा भएको देखिन्छ।
कोषको रकम राखिएका नौ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको खातामा सर्वाधिक ३ अर्ब २७ करोड ९९ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा १ अर्ब ९५ करोड २७ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ३० करोड ६२ लाख, लक्ष्मी सनराइज बैंकमा ३० करोड ८ लाख र हिमालयन बैंकमा २३ करोड १७ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, नबिल बैंकमा १६ करोड ४ लाख, ग्लोबल आइएमई बैंकमा १३ करोड १ लाख, कृषि विकास बैंकमा ९ करोड ५२ लाख र नेपाल बैंकमा ९ करोड २३ लाख रुपैयाँ रहेको छ। यी रकम सम्बन्धित बैंकले दिएको सहयोग नभई ती बैंकमा सञ्चालित राहत कोषका खातामा जम्मा भएको रकम हो।
विदेशी मुद्रातर्फ हिमालयन र लक्ष्मी सनराइज बैंकका खातामा कुल ६ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको छ। भदौ ११ गतेसम्म यस्तो रकम ५ लाख ८६ हजार ४८ डलर थियो।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता परिचालनसम्बन्धी विवरणअनुसार विश्व बैंकले सरकारले माग गरेपछि परिचालन गर्न सकिने गरी १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण तयारी अवस्थामा राखेको छ।
एसियाली विकास बैंकले ५० लाख अमेरिकी डलर बजेटरी अनुदान प्रस्ताव गरेको छ। यद्यपि, यो सहयोग एडीबी सञ्चालक समितिबाट स्वीकृत हुन बाँकी छ। एडीबीले थप १ लाख ५० हजार डलर प्राविधिक सहायता दिने विवरणमा उल्लेख छ।
अमेरिकाले ५ लाख र अस्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने भएका छन्। स्विट्जरल्यान्डले संयुक्त राष्ट्रसंघीय निकायमार्फत व्यवस्थापन हुने गरी १० लाख स्विस फ्र्याङ्क उपलब्ध गराउने भएको छ।
चीनले ३० वटा बेलिब्रिज उपलब्ध गराउने भएको छ। भारत र चीनबाट प्राप्त हुने जिन्सी सहायता अगस्ट २९ सम्म आइपुग्ने विवरणमा उल्लेख छ। भारतले शव व्यवस्थापनका लागि दुई हजारवटा हावा नछिर्ने ‘बडी ब्याग’समेत उपलब्ध गराउने भएको छ।
विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रसुवा, नुवाकोट र धादिङमा अस्थायी आवास, खाद्यान्न, खानेपानी, सरसफाइ सामग्री, जेनेरेटर, टेन्ट, कम्बल, सोलार बत्ती तथा उद्धार सामग्री परिचालन गरिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।