काठमाण्डौ। सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। अविरल वर्षाका कारण नदीको जलसतह निरन्तर बढिरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहान ७ बजेर २ मिनेटमा गरिएको मापनमा खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको हो। पछिल्लो मापनअनुसार बिहान ६ः५० बजे नदीको सतह ७.६९ मिटर पुगेको थियो।
खुर्कोट जलमापन केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह र ८.६ मिटरलाई खतराको तह निर्धारण गरिएको छ। सतर्कता तह पार गरेसँगै नदीको बहाव थप बढ्न सक्ने भन्दै महाशाखाले नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
जलसतह बढेसँगै सिन्धुली र रामेछापका नदी तटीय तथा होचा भू–भागमा डुबान र कटानको जोखिम बढेको छ। महाशाखाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
विशेषगरी नदी तथा खोलानालाको आसपासका बासिन्दालाई जलसतहको अवस्थाबारे निरन्तर जानकारी लिन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।