काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली आयोजनास्थलमा परिचालन गरिएको छ। टोलीले हवाई रेकीसहित सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक कार्य गरिरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी छन्।
त्यस्तै, आयोजनाको निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सीडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना कर्मचारी समेत सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
बाढी आएका बेला आयोजनाको भूमिगत डिसेन्डरमा छ जना फसेका थिए। तीमध्ये चार जना दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।
आयोजनास्थलमा अझै सम्पर्कविहीन रहेका व्यक्तिको अवस्था यकिन हुन नसकेपछि खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ। प्राविधिक तथा विज्ञ टोलीले हवाई निरीक्षणसँगै सम्भावित स्थानमा खोजी गरिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।