काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित घाइते तथा अन्य बिरामीको उपचारमा जनशक्ति अभाव हुन नदिन नेपाल मेडिकल काउन्सिलले दर्ता नभएका स्वदेशी तथा विदेशी चिकित्सक र स्वास्थ्यसम्बन्धी संघसंस्थालाई समेत अस्थायी दर्ता लिएर उपचार सेवामा सहभागी हुन आह्वान गरेको छ।
काउन्सिलले मंगलबार सूचना जारी गर्दै हाल नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सक तथा संघसंस्थाले प्रचलित ऐन, कानुन र नियमको पालना गरी व्यक्तिगत वा सामूहिक रूपमा विपद् प्रभावितको उपचारमा संलग्न हुन सक्ने जनाएको हो।
त्यसका लागि सम्बन्धित चिकित्सक तथा संस्थाले काउन्सिलबाट अस्थायी स्वीकृति अर्थात् अस्थायी दर्ता लिनुपर्नेछ।
काउन्सिलले उपचार सेवामा सहभागी हुन चाहने चिकित्सक तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखासँग आवश्यक समन्वय र संयोजन गर्नसमेत आग्रह गरेको छ।
प्राकृतिक विपद्का कारण ठूलो संख्यामा घाइते तथा उपचार आवश्यक पर्ने नागरिकको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै काउन्सिलले यस्तो व्यवस्था अघि सारेको हो।
काउन्सिलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा दिन इच्छुक स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले देखाएको तत्परताप्रति सम्मानसमेत व्यक्त गरेको छ।
यस व्यवस्थासँगै आवश्यक प्रक्रिया पूरा गरेका विदेशी तथा नेपालमा नियमित दर्ता नभएका चिकित्सकले पनि विपद् प्रभावित क्षेत्रमा अस्थायी रूपमा उपचार सेवा दिन सक्ने बाटो खुलेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।