काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शर्माको शव गोरखातर्फ पर्ने त्रिशूली नदी किनारमा भेटिएको हो।
हुम्लाको ताजाकोट गाउँपालिका–२ स्थायी घर भएका शर्मा बाढीपछि बेपत्ता भएका थिए। खोजीका क्रममा उनको शव त्रिशूली नदीको तटीय क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।
शवको पहिचान भएपछि आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीले रसुवाको टिमुरे तथा रसुवागढी क्षेत्रसहित त्रिशूली नदी प्रणालीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी अहिले पनि विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा जारी छ।
प्रहरीका अनुसार गोरखातर्फ पर्ने त्रिशूली नदी किनार तथा आसपासका क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला परिसकेको छ।
बाढीपछि टाढासम्म बगाइएका शव विभिन्न जिल्लामा फेला पर्ने क्रम जारी रहेकाले सुरक्षाकर्मीले नदी किनार र सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।