काठमाण्डौ । रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि अमेरिकी मानवीय संस्था ‘समरिटन्स पर्स’ले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।
राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री तथा सौर्य बत्तीलगायत अत्यावश्यक सामग्री समावेश छन्। यी सामग्री स्थानीय साझेदार संस्थामार्फत प्रभावित क्षेत्रमा वितरण गरिने र करिब २ हजार ६ सय परिवार लाभान्वित हुने बताइएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार प्रभावित समुदायको तत्काल आवश्यकतासँग मेल खाने गरी राहत सामग्री उपलब्ध गराउन नेपाल सरकार तथा सम्बन्धित साझेदार संस्थासँग समन्वय भइरहेको छ।
भदौ १० गते आएको भीषण बाढी र पहिरोले विशेषगरी रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। हजारौं नागरिक प्रभावित तथा विस्थापित भएका छन् भने सडक, पुल, विद्युत् र अन्य पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ।
समरिटन्स पर्सले पठाएको पछिल्लो राहत सामग्री विशेषगरी सुरक्षित खानेपानी, अस्थायी आश्रय र सरसफाइमा केन्द्रित छ। बाढीपछि दूषित पानीका कारण हैजा, झाडापखाला तथा अन्य जलजन्य रोग फैलिन सक्ने जोखिम रहेकाले पानी फिल्टर र सरसफाइ सामग्रीलाई महत्वपूर्ण मानिएको छ।
‘समरिटन्स पर्स’ प्राकृतिक विपद्, युद्ध तथा मानवीय संकटबाट प्रभावित समुदायलाई आपतकालीन सहयोग उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय मानवीय संस्था हो।
नेपालमा संस्थाको संलग्नता यसअघि पनि रहेको थियो। २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि संस्थाले आपतकालीन स्वास्थ्य सेवा, राहत तथा अस्थायी आवास निर्माणमा सहयोग गरेको थियो।
अमेरिकी सरकारले समेत विभिन्न माध्यमबाट नेपालको विपद् प्रतिकार्य तथा आपतकालीन राहतमा सहयोग गर्दै आएको छ। पछिल्लो ४० टन राहत सामग्रीलाई बाढी प्रभावित क्षेत्रमा तत्काल मानवीय आवश्यकता सम्बोधन गर्ने सहयोगका रूपमा हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।