काठमाडौं । यती पेन्ट्स नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग उपलब्ध गराएको हो।
यती पेन्ट्सका अध्यक्ष झलकबहादुर केसीका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक तथा समुदायलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले आर्थिक सहायता प्रदान गरेको हो।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने विश्वाससहित रकम उपलब्ध गराइएको जनाएको छ।
अध्यक्ष केसीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा निजी क्षेत्रको समेत जिम्मेवारी रहने उल्लेख गर्दै सोही भावनाअनुसार सहयोग गरिएको बताए।
यती पेन्ट्सले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
भोटेकोशी बाढीपछि प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न बैंक, वित्तीय संस्था, उद्योग तथा व्यावसायिक समूहबाट प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने क्रम जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।