काठमाण्डौ । रसुवा बाढीका कारण चीनको कैलाश–मानसरोवर क्षेत्रमा रोकिएका करिब ३ हजार यात्रुमध्ये २ हजार ५ सय जना नेपाल फर्किएका छन्।
परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कैलाश–मानसरोवर जाने तथा फर्किने क्रममा रहेका अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी नाका हुँदै नेपाल फर्किएका हुन्।
उनका अनुसार विपद्का बेला त्यस क्षेत्रमा करिब ३ हजार नेपाली तथा विदेशी यात्रु रहेको अनुमान गरिएको थियो। तीमध्ये करिब २ हजार ५ सय जना सुरक्षित रूपमा नेपाल फर्किसकेका छन्।
बाँकी यात्रुलाई पनि नेपाल फर्काउन आवश्यक समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ।
केही यात्रु भने ल्हासाबाट हवाई मार्ग हुँदै नेपाल फर्किने तयारीमा रहेको प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिए।
मन्त्रालयका अनुसार चीन सरकारले अन्य नेपाल–चीन सीमा नाकाबाट समेत नेपाली तथा विदेशी नागरिकलाई फर्काउन सहजीकरण गरिरहेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका तथा आसपासका सडक सम्पर्क प्रभावित हुँदा कैलाश–मानसरोवर यात्रामा रहेका ठूलो संख्याका यात्रु चीनतर्फ रोकिएका थिए।
बाढीपछि सीमा आवागमन प्रभावित भए पनि हिल्सा, तातोपानी तथा अन्य वैकल्पिक नाकाबाट यात्रु फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।