काठमाण्डौ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानीबाहिरै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्ग हुँदै समेत काठमाण्डौ प्रवेश गर्न नसकेपछि उद्योगहरूले अन्य जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी त्यहीँ ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन्।
साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटीसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यासमा बोटलिङ गरी काठमाण्डौ पठाउन थालिएको छ। त्यसैगरी, चितवनको बाबा ग्यासले मंगलबार मात्रै १ हजार ५ सय श्री ग्यासका सिलिन्डर भरेर पठाएको जानकारी दिएको छ ।
धादिङको नौबिसेमा रहेको श्री ग्यासको प्लान्टसम्म बुलेट पुर्याउन कठिन भएपछि वैकल्पिक उद्योगबाट ग्यास भर्ने व्यवस्था गरिएको हो। चितवनस्थित साइबाबाले आफ्ना ९ सय सिलिन्डर ग्यास भरेर काठमाण्डौ पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका लागि १ हजार २ सय सिलिन्डर भरेर पठाएको छ।
त्यस्तै, गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउन थालिएको छ।
कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीस्थित चण्डी ग्यासमा तथा बनेपाको लोकप्रिय, सुपर र तारा ग्यासलगायतले राजधानीबाहिर रहेका विभिन्न ग्यास उद्योगमा बोटलिङ गराई त्रिभुवन राजपथमार्फत काठमाडौं पठाउन थालेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी नआएको भन्दै सडक अवरोधका कारण मात्र ढुवानी प्रभावित भएको बताए।
उनका अनुसार बुलेट सम्बन्धित उद्योगसम्म पुर्याउन नसकिएका कारण अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत राजधानी पठाउने व्यवस्था मिलाइएको हो। त्यसैले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको उनको भनाइ छ।
कालाखेतीका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाणमध्ये एक हो। सोही अनुपातमा ग्यासको आपूर्ति भइरहेकाले सडक अवरोधका कारण उत्पन्न समस्या दीर्घकालीन अभावमा परिणत नहुने उद्योगीहरूको दाबी छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर रहेका उद्योगबाट ग्यास भर्न अनुमति दिएको छ।
उनका अनुसार काठमाण्डौ उपत्यका तथा आसपासका १६ ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर उपत्यकामा पठाउन थालेका छन्।
काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल एलपी ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने भएकाले सडक अवरोधका कारण आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक बोटलिङ व्यवस्था गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।