काठमाण्डौ । सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४४९.५० विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टको १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने २ अर्ब ९४ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘लगातार घटेको बजारमा केही दिनयता सुधार देखिएको छ, तर यसलाई बजार बढेको भन्दा पनि घट्न रोकिएको मात्रै बुझ्न सकिन्छ । भदौ १० गते आएको भीषण बाढीका कारण क्षति भएका केही हाइड्रोपावरले गर्दा समग्र हाइड्रो सेक्टरलाई नै धक्का पुगेको थियो । अधिकांश कम्पनीको सेयरभाउ घटेर बटम जोनमा पुगेकाले दुईतिन दिनयता बाउन्स ब्याक मात्रै देखिएको हो । बजार एउटा बेस मार्कबाट थामिएको मात्रै बुझ्न सकिन्छ ।’
उनले थपे, ‘बजारमा अझै कारोबार मात्रा बढ्न सकेको छैन । यसले लगानीकर्ताहरु अझै पनि ‘पर्ख र हेर’कै अवस्थामा छन् भन्ने बुझिन्छ । यस्तो अवस्थामा पछिल्लो समय सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरु म्यानुपुलेट गर्न लागिपरेका छन् । बजारमा प्यानिक अवस्था त छदैछ त्यसमाथि सामाजिक सञ्जालहरुमा म्यानुपुलेसनका कारण लगानीकर्ताहरु बजारमा आउन डराइरहेका छन् । बजारमा हुने एक्युमुलेसन जस्ता अवस्थाले लगानीकर्ताको मनोबल अझै घटाउने देखिन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबैमा हरियाली छायो। आज लगानी समूह सर्वाधिक अर्थात १.२६ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.२४ प्रतिशत, विकास बैंक ०.२०, होटल ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.२७, म्युचुअल फण्ड ०.१७ र व्यापाार १.०९ प्रतिशतले बढे।
आज अन्य समूह सर्वाधिक अर्थात ०.३६ प्रतिशतले घट्यो । यस्तै फाइनान्स समूह ०.३४, हाईड्रो ०.२३ र निर्जीवन बीमा समूह ०.२८ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४० करोड ९० लाख बढीको सेयर कारोबार भयो । यस्तै सानिमा मिडिल तमोरको १३ करोड ३२ लाख, सोलु हाईड्रोको १२ करोड ८६ लाख, शिवम् सिमेन्टको ११ करोड ५० लाख र माउन्टेन इनर्जीको सेयरमूल्य ९ करोड ९६ लाख बढीको सेयर कारोबार भयो।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.७६ प्रतिशतले बढ्यो ।
यस्तै चिरख्वा हाईड्रोको ८.५६ प्रतिशत, आशा लघुवित्तको ८.२९ र मायाखोला हाईड्रोको सेयरमूल्य ७.८४ प्रतिशतले बढ्यो ।
यो दिन पियोर इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात १३.३३ प्रतिशतले घट्यो । यस्तै आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.१० प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.७६ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।