काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको सांसद एवं सुरुङविद् श्रीराम न्यौपानेले बताएका छन्।
उद्धारमा खटिएका नेपाली सेनाका अधिकारीलाई उद्धृत गर्दै न्यौपानेले सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ।’ नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको पनि उनले बताएका छन्।
‘सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो,’ न्यौपानेले उल्लेख गरेका छन्।
त्यसको केहीबेरपछि उनले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको समेत बताएका छन्। उद्धार टोलीले सुरुङभित्र रहेकालाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको उनको भनाइ छ।
न्यौपाने सुरुङ उद्धार कार्यको नेतृत्व गर्दै घटनास्थलमै खटिएका थिए। उनी हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा सहभागी भएको बताउँछन्।
अब भने सांसदको हैसियतमा पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाण्डौ फर्कने तयारीमा रहेको उनले बताएका छन्।
‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारीमा छु,’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।