काठमाण्डौ । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टार क्षेत्रमा गएको पहिरोका कारण चमेलिया नदी आंशिक रूपमा थुनिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार शुक्रबार गएको पहिरोले नदीको बहावमा अवरोध सिर्जना गरेको हो। पहिरो खस्ने क्रम अझै नरोकिएकाले नदी थप थुनिन सक्ने जोखिम कायम रहेको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार हाल नदी आधा थुनिएको अवस्थामा छ। पहिरो निरन्तर खसिरहेकाले नदी पूर्ण रूपमा अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदी पूर्ण रूपमा थुनिएर पानी ठूलो परिमाणमा जम्मा भएमा पछि एक्कासि बहाव बढ्न सक्ने जोखिमसमेत रहने भएकाले प्रशासनले स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई सावधानी अपनाउन अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चौलानी अर्थात् चमेलिया नदी किनार आसपास बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट बच्न सतर्क रहन भनेको छ।
प्रशासनले धनजनको क्षति न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायलाई समेत अवस्थाको निरन्तर निगरानी गर्न आग्रह गरेको छ।
हाल पहिरोको अवस्था र नदीको बहावबारे अनुगमन भइरहेको छ। नदी थप थुनिएमा तल्लो तटीय क्षेत्रका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले प्रशासनले नागरिकलाई आधिकारिक सूचनामा ध्यान दिन र जोखिमयुक्त क्षेत्रबाट आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।