काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आगामी २४ घण्टामा अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभरको मौसममा बदलीसँगै वर्षाको गतिविधि बढेको हो।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी एवं तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, मधेस तथा कोशी प्रदेशका तराई भूभागका धेरै स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।