काठमाण्डौ । भोटेकोशी बाढीबाट पीडित नागरिकलाई लक्षित गर्दै जातीय सद्भाव खल्बलिने किसिमको अभिव्यक्ति सामाजिक सञ्जालमा दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीका २५ वर्षीय वीरेन्द्र मडै रहेका छन्। साइबर ब्युरोका अनुसार उनलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्तिहरूको जातीय पहिचानलाई जोडेर आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बाढीपीडितको पीडालाई थप गहिरो बनाउने र सामाजिक तथा जातीय सद्भावमा असर पार्न सक्ने अभिव्यक्तिलाई निरुत्साहित गर्ने उद्देश्यले उनलाई नियन्त्रणमा लिइएको हो।
“बाढीबाट पीडित भएका व्यक्तिहरूको पीडामा थप पीडा दिने भएकाले यस्ता कामहरूलाई निरुत्साहित गर्न साइबर ब्युरोले नियन्त्रणमा लिएको हो,” गिरीले बताएका छन्।
प्रहरीका अनुसार यस घटनामा औपचारिक उजुरी नपरे पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको सामग्रीको आधारमा साइबर ब्युरोले स्वतः निगरानी गरी अनुसन्धान अघि बढाएको हो।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदाय अझै उद्धार, राहत तथा पुनर्स्थापनाको प्रक्रियामा रहेका बेला जातीय, सामुदायिक वा सामाजिक सद्भाव बिगार्ने किसिमका अभिव्यक्ति नदिन प्रहरीले सर्वसाधारणलाई सचेत गराउँदै आएको छ।
पक्राउ परेका व्यक्तिमाथि आरोप पुष्टि हुन बाँकी रहेकाले थप कानुनी प्रक्रिया अनुसन्धानपछि अघि बढ्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।