आईतवार, भाद्र २१,२०८३ 06:10:15
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 06:10:15
Bizshala
Global IME Bank Limited

बाढीपीडितलाई पठाउन तयार राहतमा म्याद गुज्रेका खाद्यान्न, वितरण रोकियो

सरकारी भण्डारणदेखि प्रहरी तालिम केन्द्रसम्म भेटिए एक्स्पायर्ड चिप्स, भुजा, आटा र चामल; पीडितसम्म पुग्नुअघि नै रोकियो वितरण

बाढीपीडितलाई पठाउन तयार राहतमा म्याद गुज्रेका खाद्यान्न, वितरण रोकियो
New Office

 

 

काठमाण्डौ । भोटेकोशी बाढीपीडितलाई राहतस्वरूप वितरण गर्न तयारी अवस्थामा राखिएका खाद्य सामग्रीमै गम्भीर लापरबाही फेला परेको छ।

काठमाडौंका विभिन्न भण्डारण केन्द्रमा गरिएको आकस्मिक अनुगमनका क्रममा म्याद गुज्रेका चिप्स, भुजा, आटा, चामललगायत खाद्य सामग्री अन्य राहत सामग्रीसँगै प्याकिङ गरी वितरणको तयारीमा राखिएको भेटिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त टोलीले पाँच वटा राहत भण्डारण तथा प्याकेजिङ स्थलमा गरेको अनुगमनका क्रममा यस्तो कैफियत फेला पारेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गरिएको अनुगमनमा विशेषगरी बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा राखिएका राहत सामग्रीमा समस्या देखिएको हो।

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार केही म्याद सकिएका सामग्रीसमेत असल खाद्यान्नसँगै मिसाएर वितरणका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बबरमहलमा चिप्स र भुजा एक्स्पायर्ड

बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि प्याकिङ गर्न राखिएका सामग्रीमध्ये यशोदा फुड्स प्रालिको ‘करेन्ट चिप्स’ र गिरिधारी फुड प्रडक्टको ‘भुजा’ म्याद सकिएको अवस्थामा फेला परेको छ।

अनुगमन टोलीले ३० थान करेन्ट चिप्स र २१ बोरा भुजाको वितरण तत्काल रोक्दै ती सामग्रीलाई छुट्टै ‘एक्स्पायर्ड जोन’ मा राख्न निर्देशन दिएको छ।

सम्बन्धित सामग्रीबारे थप कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

प्रहरी तालिम केन्द्रमा पनि म्याद सकिएका सामग्री

सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा राखिएका राहत सामग्रीमध्ये दुई प्याकेट अर्थात् १८ पिस चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद सकिएको अवस्थामा फेला परेको छ।

सोही स्थानमा भण्डारण गरिएको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन जम्मा दुई दिनमात्र बाँकी रहेको पाइएको थियो।

विभागले ती दालमोठसमेत पीडितलाई वितरण गर्न उपयुक्त नहुने ठहर गर्दै छुट्टै राख्न निर्देशन दिएको छ।

राहतको चामलसमेत म्याद गुज्रेको

सामाखुसीमै रहेको राधा स्वामी सत्सङमा अनुगमन गर्दा जयश्री उसिना चामलको २५ किलोको एक बोरा पनि म्याद सकिएको अवस्थामा फेला परेको छ।

यसरी पीडितका लागि संकलन तथा प्याकेजिङ गरिएका खाद्यान्नमै म्याद गुज्रेका वस्तु भेटिएपछि राहत सामग्रीको छनोट, भण्डारण र वितरण प्रणालीमाथि प्रश्न उठेको छ।

विपद्मा परेका नागरिकलाई राहत दिन पठाइने खाद्यान्नको गुणस्तरमा झन् बढी सावधानी अपनाउनुपर्ने अवस्थामा म्याद सकिएका वस्तु वितरणको तयारीमा राखिनु गम्भीर लापरबाही भएको विभागको निष्कर्ष छ।

म्याद गुज्रेका खाद्य सामग्री सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विभागले त्यस्ता वस्तुको वितरण रोकेर कानुनी कारबाही अघि बढाएको जनाएको छ।

भोटेकोशी बाढीपछि हजारौँ नागरिक राहतमा निर्भर रहेको अवस्थामा यो घटनाले राहत सामग्रीको स्रोतदेखि अन्तिम वितरणसम्म कडा गुणस्तर परीक्षण आवश्यक रहेको देखाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.