काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण तथा अग्राधिकार शेयरधनीलाई गरी करिब ४ अर्ब ५१ करोड रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरधनीलाई चुक्ता पुँजीको कुल १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र करसहित १०.८० प्रतिशत नगद लाभांश समावेश छ।
हाल बैंकको साधारण शेयरतर्फ चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ छ। त्यसको ५ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको हो।
बोनस शेयर वितरणपछि बैंकको साधारण शेयरतर्फको चुक्ता पुँजी बढेर करिब २८ अर्ब ४० करोड ९८ लाख ४६ हजार ५६६ रुपैयाँ पुग्नेछ।
त्यस्तै, बैंकले साधारण शेयरधनीका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४७ रुपैयाँ नगद लाभांश छुट्याएको छ। यसमा लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बोनस र नगद गरी साधारण शेयरधनीका लागि मात्रै कुल ४ अर्ब २७ करोड ५० लाख ५ हजार ४८३ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरिएको छ।
अग्राधिकार शेयरधनीलाई २३ करोड ३४ लाख
बैंक सञ्चालक समितिले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लगानीकर्तालाई पनि नगद लाभांश दिने प्रस्ताव गरेको छ।
अग्राधिकार शेयरतर्फ बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ। यसमा वार्षिक ८ प्रतिशतका दरले आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँट भएको मितिदेखि २१३ दिनको समानुपातिक हिसाब गर्दा करसहित २३ करोड ३४ लाख २४ हजार ६५८ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।
यसरी साधारण र अग्राधिकार शेयरधनीका लागि प्रस्ताव गरिएको लाभांशको कुल आकार करिब ४ अर्ब ५० करोड ८४ लाख रुपैयाँ पुग्ने देखिन्छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा र दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई उचित प्रतिफल दिन लाभांश प्रस्ताव गरिएको जनाएको छ।
यद्यपि, प्रस्तावित लाभांश तत्काल वितरण हुने छैन। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले लाभांश पाउनेछन्।
नबिल बैंकले हाल देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।