काठमाण्डौ। भोटेकोसी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनाका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता बढाएको छ।
मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुर्याउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोला लगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी छ।
चिलिमे जलविद्युत् आयोजनामा उद्धार तथा सञ्चालनका लागि आवश्यक मड पम्प, जेनेरेटर र वाटर पम्प हेलिकोप्टरमार्फत पुर्याइएको छ। यस्तै, रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासको क्षेत्रमा पुगेर काम गरिरहेको छ।
लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो तथा ठूला चट्टान हटाउने काम भइरहेको छ भने माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा मिनी एक्स्काभेटर तथा बक्याट प्रयोग गरी भग्नावशेष हटाउने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
मैलुङ खोला आयोजनामा नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत निरीक्षण तथा रेकी गरेको छ। बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यसैबीच, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली पठाइएको छ।
रसुवामा विद्युत् सेवा पुनः सञ्चालन हुन थप समय लाग्ने १ हजार २६८ घरधुरी पहिचान गरी उनीहरूलाई सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।