काठमाण्डौ । सरकारले लागुऔषध नियन्त्रणसम्बन्धी कामलाई थप प्रभावकारी र संस्थागत बनाउन गृह मन्त्रालयअन्तर्गत छुट्टै लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने निर्णय गरेको छ।
यसअघि मन्त्रालयभित्र शाखाका रूपमा सञ्चालन हुँदै आएको लागुऔषध नियन्त्रण संरचनालाई स्तरोन्नति गर्दै विभागको स्वरूप दिइएको हो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) मार्फत नयाँ विभाग स्थापना गर्ने निर्णय गरिएको हो।
उनले विभाग स्थापनाको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्।
नवगठित विभागको महानिर्देशकको जिम्मेवारी ऋषिराम तिवारीलाई दिइएको छ। गृह मन्त्रालयले भदौ १८ गते तिवारीलाई विभागको महानिर्देशकका रूपमा सरुवा गरेको हो।
विभाग नयाँ भएकाले अहिले कार्यालय सञ्चालनका लागि उपयुक्त स्थान खोज्ने काम भइरहेको महानिर्देशक तिवारीले जानकारी दिएका छन्।
विभागका लागि एक सहसचिव, दुई उपसचिव, तीन शाखा अधिकृत, पाँच नायब सुब्बा र दुई कम्प्युटर अपरेटरको दरबन्दी स्वीकृत गरिएको छ।
यसअघि गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले लागुऔषधसम्बन्धी नीति निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका साथै दुर्व्यसन नियन्त्रण र पुनर्स्थापनासम्बन्धी काम गर्दै आएको थियो।
शाखाले लागुऔषधको बिक्री–वितरण, ओसारपसार तथा दुरुपयोग नियन्त्रण, यससम्बन्धी अभिलेख व्यवस्थापन र बरामद लागुऔषध नष्ट गर्ने प्रक्रियासमेत हेर्दै आएको थियो।
त्यस्तै, औषधि निर्माणका लागि आवश्यक पर्ने नियन्त्रित पदार्थ आयात तथा प्रयोगको अनुमति दिने, लागुऔषध नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले गरेका निर्णय कार्यान्वयन गर्ने तथा दुर्व्यसनमा परेका व्यक्तिको उपचार र पुनर्स्थापनाका लागि सामाजिक संघसंस्थासँग समन्वय गर्ने जिम्मेवारी पनि यही संरचनाअन्तर्गत थियो।
लागुऔषधको दुष्परिणामबारे जनचेतना अभिवृद्धि गर्ने, रोकथामसम्बन्धी कार्यक्रम तर्जुमा गर्ने तथा प्रचारप्रसारका कामसमेत शाखाले गर्दै आएको थियो।
अब यही संरचनाको कार्यक्षेत्र विस्तार गर्दै विभाग बनाइएको हो। विभाग स्थापना भएपछि लागुऔषध नियन्त्रण, रोकथाम, उपचार, पुनर्स्थापना, नियमन तथा समन्वयसम्बन्धी काम थप संस्थागत र प्रभावकारी बनाउने सरकारको तयारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।