काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, जारी खोज तथा उद्धार, राहत वितरण र पुनरुत्थानका प्रयासबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।
स्थलगत अवलोकनका क्रममा राष्ट्रपति पौडेल नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र पुगेका थिए। त्यहाँ उनले जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग बाढीपछिको अवस्थाबारे जानकारी लिएका छन्।
राष्ट्रपतिलाई प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियान, राहत सामग्रीको वितरण, विस्थापितका लागि सञ्चालन गरिएका होल्डिङ सेन्टर तथा पुनरुत्थानका लागि भइरहेका कामबारे विस्तृत ब्रिफिङ गरिएको थियो।
बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्थाबारे जानकारी लिएका हुन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोटमा स्थलगत अवलोकन तथा ब्रिफिङ सम्पन्न गरेपछि राष्ट्रपति पौडेल रसुवातर्फ प्रस्थान गरेका छन्।
रसुवामा समेत उनले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षा निकाय, स्थानीय प्रशासन, विभिन्न सरकारी संयन्त्र तथा स्वयंसेवकहरू खोजी, उद्धार र राहत कार्यमा परिचालित छन्। राष्ट्रपति पौडेलको भ्रमणलाई विपद्पछि राज्यको उच्च तहबाट प्रभावित क्षेत्रको अवस्था बुझ्ने र पीडितको पुनर्स्थापनामा चासो देखाउने कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।