काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नापी कार्यालय, कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै कर्मचारीले जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेको पाइएको छ।
आयोगको अनुसन्धानबाट उनीहरूले नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको र त्यसपछि घुस लिन मन्जुर गरेको पुष्टि भएको जनाएको छ।
घुससम्बन्धी कसुरमा दुवै जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना गर्न मागदाबी गरिएको छ।
आयोगले सोमबार दुवै जनाविरुद्ध विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।