काठमाण्डौ । बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केबोलामा निर्माण भएको पक्की पुलमा थप मर्मत तथा सडक संरक्षणको काम गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार भदौ २३ गते मंगलबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ।
बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केबोलामा रहेको पक्की पुल बगेपछि वैकल्पिक मार्गका रूपमा पिपलटार–आदमघाट–बेनीघाट–मस्टार सडक प्रयोग हुँदै आएको थियो। सो सडकमा थप मर्मत–सम्भारको काम गर्नुपर्ने भएकाले निश्चित अवधिका लागि आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।
प्रशासन कार्यालयले उक्त अवधिमा यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सूचनामा धादिङबेँसी–सुन्दरी बजार–भोर्ले–कोसीखोला–फरेस्टेटार–कल्लीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको छ।
सडक मर्मतका क्रममा हुने असुविधाप्रति क्षमायाचना गर्दै जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई सहयोग तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।