काठमाण्डौ । सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गएराति ९ः१० बजे खसेको पहिरोका कारण राजमार्गमा आवागमन ठप्प हुँदा चार दर्जनभन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।
सडक अवरुद्ध भएपछि आज बिहान ६ बजेदेखि प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।
यसअघि कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो २ः४५ बजेदेखि सञ्चालनमा आएको थियो।
ती स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केही समयमै दैलेखको भम्लु खोलामा पुनः पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।
राजमार्ग अवरुद्ध हुँदा हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाण्डौतर्फ यात्रा गरिरहेका यात्रु तथा स्याउ व्यापारीहरू बढी प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा व्यापारीहरूले लामो समयदेखि सास्ती खेप्नुपरेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।