काठमाण्डौ । नेपालको पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले जर्मन कम्पनी भेरिडोसलाई धरौटी नलिई साधारण तारेखमा राख्न आदेश दिएको छ।
विशेष अदालतका सदस्य नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले थुनछेक बहसपछि कम्पनीका तर्फबाट उपस्थित प्रतिनिधिलाई साधारण तारेखमा राख्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइ प्रक्रियामा भ्रष्टाचार भएको आरोप लगाउँदै राहदानी विभागका कर्मचारीसहित ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएपछि भेरिडोसले नेपालमा आफ्नो कानुनी प्रतिनिधित्वका लागि अख्तियारनामा दिएको थियो। सोही अख्तियारनामा प्राप्त प्रतिनिधि विशेष अदालतमा उपस्थित भएका थिए।
प्रतिनिधिको बयान लिएपछि भएको थुनछेक बहसमा अदालतले तत्काल धरौटी माग्नुपर्ने अवस्था नदेखिएको भन्दै साधारण तारेखमा राख्ने आदेश दिएको हो।
यससँगै कम्पनीका प्रतिनिधिले मुद्दाको आगामी प्रक्रियामा अदालतले तोकेको मितिमा उपस्थित हुनुपर्नेछ।
पासपोर्ट छपाइसम्बन्धी भ्रष्टाचार मुद्दाको अन्तिम टुंगो भने विशेष अदालतमा हुने नियमित सुनुवाइ र प्रमाण परीक्षणपछि लाग्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।