Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 01:04:44
Bizshala
Global IME Bank Limited

२० दिनदेखि सडक सम्पर्कविहीन मुगु, दैनिक उपभोग्य वस्तुको हाहाकारदेखि स्याउ सम्म कुहियो

२० दिनदेखि सडक सम्पर्कविहीन मुगु, दैनिक उपभोग्य वस्तुको हाहाकारदेखि स्याउ सम्म कुहियो
New Office

काठमाण्डौ । अविरल वर्षापछिको पहिरोले मुख्य सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मुगु २० दिनदेखि राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएको छ। लामो समयसम्म यातायात सञ्चालन हुन नसक्दा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव चर्किएको छ भने बिक्रीका लागि बाहिर पठाउन लागिएको लाखौँ रुपैयाँको स्याउ बाटोमै कुहिन थालेको छ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी र झ्यारी–गमगढी सडकखण्ड विभिन्न ठाउँमा पहिरोले अवरुद्ध बनेका छन्। विकट भूगोल, निरन्तरको वर्षा र पहिरो पन्छाउने काममा भएको ढिलाइका कारण सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

यसको प्रत्यक्ष असर जिल्ला सदरमुकाम गमगढीदेखि ग्रामीण क्षेत्रसम्म देखिन थालेको छ। बजारमा खाद्यान्न, खाना पकाउने एलपी ग्यास, औषधि तथा निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको छ।

लामो समयदेखि नयाँ आपूर्ति हुन नसक्दा कतिपय बजार क्षेत्रमा ग्यास तथा खाद्यान्नको मौज्दातसमेत सकिन थालेको छ। त्यसको असर सर्वसाधारणको भान्सादेखि होटल तथा अन्य व्यवसायसम्म परेको छ।

चामल बोकेका ९ ट्रकसहित सयौँ गाडी बाटोमै

सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री बोकेर मुगुतर्फ गएका सयौँ मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

राजापुरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल बोकेर मुगुतर्फ गएका ९ वटा ट्रकसमेत झ्यारी खोला र ताल्चाबीच अलपत्र परेका छन्। व्यापारीका अन्य मालवाहक गाडी पनि त्यही क्षेत्रमा रोकिएका छन्।

हप्तौँदेखि गाडी अघि बढ्न नसकेपछि चालक तथा सहचालक सडक आसपास र अस्थायी छाप्रामा कष्टकर रूपमा बस्न बाध्य भएका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

स्याउ गाडीमै कुहियो, किसान–व्यापारीलाई लाखौँको क्षति

सडक अवरोधको अर्को ठूलो आर्थिक असर मुगुको स्याउमा परेको छ।

उत्पादनपछि बजारमा पठाउनुपर्ने स्याउ समयमै जिल्ला बाहिर लैजान नसक्दा गाडीमै कुहिन थालेको व्यापारीहरूले बताएका छन्।

स्थानीय व्यापारी कर्णबहादुर बुढाका अनुसार मुगुबाट बाहिर निकासीका लागि तयार गरिएको करिब २० देखि २५ लाख रुपैयाँ बराबरको स्याउ सडक अवरोधका कारण गाडीमै रोकिएको छ।

‘सडक बन्द हुँदा मुगुबाट बाहिर निकासी गर्न लागिएको २० देखि २५ लाख रुपैयाँ बराबरको स्याउ गाडीमै अड्किएर कुहिन थालेको छ। स्याउ कुहिएर गन्हाउन थालेपछि हामी व्यापारीहरूले लाखौँको घाटा व्यहोर्नुपरेको छ,’ उनले भने।

यसले स्थानीय किसान र व्यापारी दुवैलाई आर्थिक मारमा पारेको छ। समयमै बजार पुर्‍याउनुपर्ने कृषि उत्पादन लामो समय सडकमा रोकिँदा उत्पादनको मूल्य नै गुम्ने अवस्था आएको हो।

‘डबल कटिङ’ले कमजोर बनायो पहाड ?

स्थानीयवासीले भने सडक अवरोधको कारण प्राकृतिक विपद् मात्र नभएको आरोप लगाएका छन्।

सडक स्तरोन्नतिका क्रममा निर्माण व्यवसायीले जथाभावी ‘डबल कटिङ’ गर्दा पहाडको संरचना कमजोर बनेको र त्यसपछि ठूलो पहिरो गएको उनीहरूको आरोप छ।

स्थानीय नरेन्द्रबहादुर शाहीका अनुसार अव्यवस्थित रूपमा डोजर प्रयोग गरेर सडक खन्दा आसपासका बस्ती र खेतीयोग्य जमिनसमेत जोखिममा परेका छन्।

‘जथाभावी बाटो खन्दा गएको पहिरोले घरजग्गा नै बगाइदियो। अहिले मेरो ६ जनाको परिवार पूर्ण रूपमा बिचल्लीमा परेको छ,’ उनले भने, ‘एकातिर हामी घरबारविहीन बनेका छौँ, अर्कोतिर सडक डिभिजन र प्रशासनले समयमै पहिरो पन्छाउन पर्याप्त मेसिन र जनशक्ति खटाएको छैन।’

सडक आयोजनाको दाबी– मौसमले साथ दिए केही दिनमै खुल्छ

नाग्म–गमगढी–नाक्चेलाग्ना सडक आयोजनाले भने निरन्तरको वर्षा र जटिल भूगोलका कारण पहिरो पन्छाउने काम अपेक्षित गतिमा हुन नसकेको जनाएको छ।

आयोजना प्रमुख नन्दराज गिरीका अनुसार जोखिमयुक्त ठाउँमा मेसिन परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ।

‘निरन्तरको वर्षा, जटिल भौगोलिक बनावट र ठेकेदारको ढिलासुस्तीका कारण सडकको पहिरो पन्छाउन केही ढिलाइ भएको हो,’ उनले भने, ‘जोखिमयुक्त ठाउँहरूमा मेसिन निरन्तर प्रयोग भइरहेको छ। मौसमले साथ दिए आगामी केही दिनभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।’

यता २० दिनसम्म जिल्लाको मुख्य सडक सम्पर्क पुनःस्थापित हुन नसक्दा स्थानीयवासी, व्यापारी र यातायात व्यवसायीले सरकारी निकायको भूमिकामाथि प्रश्न उठाएका छन्।

उनीहरूले प्रदेश सरकार, सडक आयोजना र स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय गरी पर्याप्त ठूला उपकरण तथा जनशक्ति परिचालन गरेर तत्काल सडक खोल्न माग गरेका छन्।

सडक अवरोध अझै लम्बिए मुगुमा दैनिक उपभोग्य वस्तुको अभाव थप चर्किनुका साथै कृषि उत्पादन, व्यापार, पर्यटन तथा निर्माण गतिविधिमा समेत ठूलो आर्थिक क्षति पुग्ने जोखिम बढेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.