काठमाण्डौ । नेपाल एसबिआई बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ योगदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरेको हो।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव र प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविन मुनि बज्राचार्यलगायतको उपस्थिति थियो।
बैंकले विपद्को कठिन घडीमा प्रभावित समुदायको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनरुत्थानमा सहयोग पुर्याउने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ।
भोटेकोशी बाढीपछि विभिन्न बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका कम्पनी तथा संघसंस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी छ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।