काठमाण्डौ । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका अभियुक्त नक्कली सुन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई हाल काठमाण्डौको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार थापालाई बिहीबार साँझ करिब ६ बजे टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेस्ट हाउसबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार थापाले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
ठगीसम्बन्धी उजुरी र सूचनाका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनको खोजी गरिरहेको थियो। अन्ततः टोखाबाट पक्राउ परेपछि उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
काठमाडौं जिल्ला अदालतले थापामाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको छ।
थापा यसअघि जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए। तर गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उत्पन्न अस्थिरताको फाइदा उठाउँदै उनी नख्खु कारागारबाट फरार भएको प्रहरीले जनाएको छ।
कारागारबाट फरार भएपछि उनी पुनः आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरी अनुसन्धान केन्द्रित भएको छ।
प्रहरीले नक्कली सुन देखाएर गरिएको भनिएको ठगीमा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।