काठमाडौं । एआई सुरक्षासम्बन्धी चिन्ता बढ्दै गएपछि ओपनएआईले यसै वर्ष प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ( मा नजाने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले अहिलेको अवस्थामा आईपीओमा जानु उचित नहुने बताएका छन्।
शनिबार प्रकाशित फर्च्युनसँगको अन्तर्वार्तामा अल्टम्यानले हाल आईपीओमा जानु ‘अविवेकी निर्णय’ हुने बताएका हुन्। यससँगै लामो समयदेखि चर्चामा रहेको ओपनएआईको आईपीओ कम्तीमा सन् २०२७ सम्म धकेलिएको छ।
ओपनएआईकी प्रमुख वित्तीय अधिकृत सारा फ्रायरले गत महिना कर्मचारीलाई कम्पनीको व्यवसायले अपेक्षित रूपमा विस्तार जारी राखे सन् २०२७ मा वा त्योभन्दा अगावै सार्वजनिक हुन सक्ने बताएकी थिइन्। तर, अल्टम्यानको पछिल्लो भनाइले कम्पनीले तत्काल आईपीओमा जाने योजना स्थगित गरेको संकेत गरेको छ।
अल्टम्यानको भनाइ सार्वजनिक भएकै दिन एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले एआई कम्पनीहरूले आफ्ना अत्याधुनिक मोडलको क्षमता सुधार गर्ने गति केही कम गर्नुपर्ने प्रस्ताव अघि सारे।
अमोडेईले प्रकाशित गरेको निबन्धमा एआई विकास पूर्ण रूपमा रोक्ने नभई कम्पनीहरूले मोडललाई सुरक्षित, जिम्मेवार र मानव मूल्यअनुकूल बनाउन पर्याप्त समय दिनुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार यस्तो कदमले व्यावसायिक प्रतिस्पर्धा वा अमेरिकाको एआई क्षेत्रमा रहेको अग्रता त्याग्नुपर्ने अवस्था भने आउनु हुँदैन।
अमोडेईले एआई विकासको गति घटाउनु भनेको मोडल प्रशिक्षण वा प्राविधिक प्रगतिलाई रोक्नु नभएको स्पष्ट पारेका छन्। उनका अनुसार कम्पनीहरूले अत्याधुनिक मोडललाई सुरक्षित बनाउन आवश्यक समय लिनु र स्वतन्त्र मूल्यांकनकर्ताबाट सुरक्षा परीक्षण गराउनु यसको मुख्य उद्देश्य हो।
एआई क्षेत्रमा कडा प्रतिस्पर्धी मानिने अल्टम्यान, अमोडेई र एलन मस्कबीच पछिल्लो प्रस्तावमा देखिएको सहमतिलाई उद्योगमा असामान्य घटनाका रूपमा हेरिएको छ।
अल्टम्यानले सामाजिक सञ्जाल एक्समा अमोडेईको प्रस्तावप्रति समर्थन जनाउँदै अत्याधुनिक एआई क्षमताको विकासलाई व्यवस्थित गतिमा अघि बढाउनुपर्ने बताए। उनले यो विषय पछिल्ला केही सातादेखि ओपनएआईभित्र प्रमुख छलफलको विषय रहेको जानकारी दिएका छन्।
स्वतन्त्र मूल्यांकनकर्तालाई कर्मचारीसरह पहुँच दिने अमोडेईको प्रस्तावलाई राम्रो विचार भन्दै अल्टम्यानले ओपनएआईले पनि यस्तै व्यवस्था लागू गर्ने बताएका छन्।
एलन मस्कले पनि शनिबार अमोडेईको प्रस्तावलाई समर्थन गर्दै ‘डारियो सही छन्’ भन्ने प्रतिक्रिया दिएका छन्। मस्कको एआई कम्पनी एक्सएआई यसअघि एन्थ्रोपिकको प्रतिस्पर्धीका रूपमा अघि बढेको थियो। तर, एन्थ्रोपिक र मस्कको रकेट कम्पनी स्पेसएक्सबीच ठूलो कम्प्युटिङ सम्झौता भएपछि मस्कको धारणा एन्थ्रोपिकप्रति केही नरम भएको देखिएको छ।
एआई प्रणालीको क्षमता तीव्र रूपमा विस्तार भइरहेका बेला यसको सम्भावित जोखिमबारे अनुसन्धानकर्ता, प्रविधि कम्पनी र नीति निर्माताबीच बहस चर्किएको छ।
यसै क्रममा एन्थ्रोपिकका एक अनुसन्धानकर्ता ज्याकब कोक्सनले कम्पनीबाट राजीनामा दिँदै एन्थ्रोपिक र ओपनएआईले एआई विकासमा अत्यधिक जोखिम लिइरहेको आरोप लगाए। उनले एआई विकासमा संलग्न केही व्यक्तिले आगामी दशकभित्रै एआईले मानव अस्तित्वमै गम्भीर खतरा उत्पन्न गर्न सक्ने विश्वास गर्ने बताएका थिए।
यद्यपि एआईबाट मानव अस्तित्वमा पर्न सक्ने जोखिमबारे चिन्ता नयाँ होइन। सन् २०२३ मा अमोडेई र अल्टम्यानसहित एआई क्षेत्रका प्रमुख अनुसन्धानकर्ता तथा कार्यकारीहरूले एआईबाट मानव अस्तित्वमा पर्न सक्ने जोखिम न्यूनीकरणलाई महामारी र आणविक युद्धजस्ता विश्वव्यापी जोखिमसँगै प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।
अमोडेईले सन् २०२३ मै एआई विकास रोक्ने वा सुस्त बनाउने बहस सुरु भए पनि त्यतिबेला त्यसको आवश्यकता कम रहेको बताएका छन्। उनका अनुसार त्यतिबेला एआई मोडलहरू वास्तविक संसारमा प्रभावकारी रूपमा कार्य गर्न, ठूलो स्तरको छल, हेरफेर वा साइबर आक्रमण गर्न पर्याप्त सक्षम थिएनन्।
तर अहिले अवस्था बदलिएको उनको भनाइ छ।
अमोडेईले एआईले मानव जीवनको गुणस्तरमा ठूलो सुधार ल्याउन सक्ने सम्भावनामा आफू अझै विश्वस्त रहेको बताएका छन्। यद्यपि यसको लाभ प्राप्त गर्न प्रविधिको विकास सुरक्षित र जिम्मेवार ढंगले गर्नुपर्नेमा उनले जोड दिएका छन्।
एआई विकासको गति घटाउनुपर्ने पक्षमा रहेका अमोडेईले अत्यधिक सुस्त गतिले अर्को जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन्।
उनले एआई विकास अत्यधिक ढिलो भए अधिनायकवादी सरकारहरूले यस प्रविधिमा अग्रता हासिल गर्न सक्ने र त्यसले झन् ठूलो जोखिम निम्त्याउन सक्ने बताएका छन्।
उनका अनुसार एआई विकासको ‘सही गति’ निर्धारण गर्नु अहिलेको प्रमुख चुनौती हो। यदि विकास केही समय सुस्त पार्दा एआई अत्यधिक शक्तिशाली बन्नुअघि थप एक–दुई वर्ष प्राप्त गर्न सकिए र त्यो समय सुरक्षा तथा ‘अलाइनमेन्ट’ सुधारमा प्रयोग गरिए सम्भावित गम्भीर जोखिम घटाउन सकिने उनको तर्क छ।
अमेरिकामा एआईसम्बन्धी नयाँ सुरक्षा मापदण्ड र कानुनी व्यवस्था बनाउन सांसदहरूबाट समेत दबाब बढिरहेको छ। अत्याधुनिक एआई चिप प्रतिद्वन्द्वी मुलुकमा निर्यात नियन्त्रणदेखि अत्याधुनिक एआई मोडलको अनिवार्य परीक्षणसम्मका विषयमा बहस भइरहेको छ।
एन्थ्रोपिककी सार्वजनिक नीति प्रमुख सारा हेकले पनि सरकारले एआई सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएकी छन्। उनले अत्याधुनिक चिपको बिक्रीमा नियन्त्रण तथा ‘फ्रन्टियर’ एआई मोडलको अनिवार्य परीक्षणका लागि राष्ट्रिय कानुन आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।
यसैबीच, ओपनएआईका प्रमुख वैज्ञानिक जाकुब पाचोकीले पनि कुनै एआई कम्पनीले अधिकतम गतिमा विकास विस्तार गरिरहन आवश्यक पर्ने स्तरमा ‘अलाइनमेन्ट’ र निगरानीको समस्या समाधान गरिसकेको अवस्था नरहेको चेतावनी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।