काठमाण्डौ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। यस वर्ष भदौ २९ गते परेको तीजका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
तीजमा पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापनलाई प्राथमिकतामा राख्दै मन्दिरमा प्रवेश तथा दर्शनका लागि विशेष व्यवस्था गरिएको कोषले जनाएको छ।
कोषका अनुसार मन्दिरबाहिर पाँचवटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठवटा लाइन सञ्चालन गरिनेछ। यसबाट भक्तजनलाई व्यवस्थित रूपमा मन्दिर प्रवेश गराई दर्शन गराउने व्यवस्था मिलाइएको हो।
तीजमा दर्शनार्थीमध्ये महिलाको संख्या उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाउन सरकारसँग अनुरोध गरिएको कोषले जनाएको छ।
पशुपति क्षेत्रमा हुने सवारी चाप व्यवस्थापनका लागि पनि छुट्टै पार्किङ व्यवस्था गरिएको छ। विशिष्ट व्यक्तिका सवारीसाधनका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङको व्यवस्था मिलाइएको छ।
अन्य सवारीसाधनका लागि भने भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा तथा उमाकुण्ड पार्किङस्थल तोकिएको छ।
कोषले तीजका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई तोकिएका पार्किङस्थल तथा प्रवेश मार्ग प्रयोग गरी व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।