काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल निर्माण थालिएको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएपछि नियमित यातायात खुलाउने तयारी तीव्र पारिएको हो।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सोमबार निर्माण सुरु भएको ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।
‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,’ नेपालले भने।
उनका अनुसार निर्माणको प्रारम्भिक चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन्।
हाल नयाँ ट्र्याकमा नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सडकको किनारमा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई ढाकेर माथिबाट टिक ड्रेन निर्माण गर्ने कामसमेत भइरहेको नेपालले बताए।
सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ। करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ।
यसैबीच, नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको जानकारी दिए।
उनका अनुसार आइतबार परीक्षणका लागि मात्रै केही सवारीसाधनलाई नयाँ ट्र्याकबाट पास गराइएको हो। अहिले भने नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ।
‘सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र केही हिजो सवारीसाधन पास गराइएको हो, मिश्रले भने।
थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।