काठमाण्डौ । आगामी हिउँदमा हुन सक्ने विद्युत् अभाव व्यवस्थापनका लागि नेपालले भारतबाट दैनिक १८ घण्टा ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने भएको छ।
भारतको विद्युत् मन्त्रालयले आगामी डिसेम्बर ३१ सम्मका लागि नेपाललाई यस्तो विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।
भारतीय प्रेस सूचना ब्युरो (पीआईबी)का अनुसार मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारणलाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराइनेछ।
तर साँझ ६ बजेदेखि मध्यरातसम्मको ‘पिक आवर’मा भने नेपालले उक्त व्यवस्थाअन्तर्गत विद्युत् आयात गर्न पाउने छैन।
हाल नेपाल भारततर्फ दैनिक औसत करिब ८०० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। यद्यपि पछिल्लो बाढीका कारण ४३१ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना बन्द भएपछि आगामी हिउँदमा विद्युत् उत्पादनमा चाप पर्ने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हिउँदमा नदीको बहाव घटेसँगै जलविद्युत् उत्पादन कम हुने भएकाले आवश्यकता अनुसार भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अहिले नेपाल आयातभन्दा निर्यातकै अवस्थामा रहेकाले भारतले दिएको स्वीकृति तत्कालै ठूलो परिमाणमा प्रयोग नहुन सक्छ। तर विद्युत् आयोजना वा प्रसारण प्रणालीमा आकस्मिक समस्या देखिएमा यो व्यवस्थाले राष्ट्रिय विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग गर्नेछ।
भारतबाट प्राप्त नयाँ आयात स्वीकृतिले विशेषगरी सुख्खायाममा विद्युत् आपूर्ति व्यवस्थापनमा प्राधिकरणलाई थप विकल्प दिएको छ। यद्यपि साँझको उच्च माग हुने समयमा आयात अनुमति नहुँदा आन्तरिक उत्पादन र प्रणाली व्यवस्थापन अझै महत्वपूर्ण रहनेछ।
यसैबीच, बाढीका कारण स्रोत आयोजनाहरू बन्द भएपछि बंगलादेशतर्फ भइरहेको ४० मेगावाट विद्युत् निर्यात पनि रोकिएको छ।
प्राधिकरणले काबेली बी–१ र ठुलो खोला जलविद्युत् आयोजनालाई नयाँ स्रोतका रूपमा प्रस्ताव गर्दै भारतसँग बंगलादेशतर्फ विद्युत् निर्यातको अनुमति मागेको छ। हालसम्म अनुमति प्राप्त नभए पनि प्राधिकरणले छिट्टै स्वीकृति आउने अपेक्षा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।