काठमाण्डौ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्नो नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर अनधिकृत रूपमा प्रयोग गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं सरकारी निकायमा पत्राचार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले एक विज्ञप्तिमार्फत कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट त्यस्ता पत्राचार भइरहेको जनाएको हो।
क्यान महासंघका अनुसार संस्थाको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय तथा सचिवालयको निर्धारित प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्र हुने व्यवस्था छ। त्यसविपरीत जारी गरिएका कुनै पनि पत्र, निर्णय वा सूचना महासंघको आधिकारिक धारणा वा निर्णय नरहेको स्पष्ट पारिएको छ।
महासंघले आफ्नो नाम, लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई सचेत गराएको छ।
यस्ता गतिविधि पुनः दोहोरिएमा वा त्यसबाट महासंघको प्रतिष्ठा, अधिकार तथा कामकारबाहीमा असर पुग्ने अवस्था सिर्जना भएमा सम्बन्धित व्यक्ति वा पक्षविरुद्ध महासंघको विधान तथा प्रचलित कानूनबमोजिम आवश्यक संस्थागत तथा कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
महासंघले आफ्नो नामबाट प्राप्त कुनै पनि पत्राचार वा निर्देशनको आधिकारिकता सचिवालयबाट पुष्टि नगरी कार्यान्वयन नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था तथा सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ।
महासंघले आधिकारिक पत्राचारको सत्यता पुष्टि गरेर मात्र आवश्यक प्रक्रिया अघि बढाउनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।