काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन्। देशमा उत्पन्न प्राकृतिक विपद्का कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति नियमित गर्ने कार्यलाई प्राथमिकता दिँदै उनले पूर्वनिर्धारित भ्रमण रद्द गरेका हुन्।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रका विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसमक्ष रहेको छ।
त्यसैगरी, क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्तिलाई नियमित तथा व्यवस्थित बनाउने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्।
मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।
उक्त सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली जाने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो।
तर, मुलुकमा उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै मन्त्री श्रेष्ठले विदेश भ्रमणभन्दा तत्कालीन उद्धार, राहत, ऊर्जा संरचनाको पुनःस्थापना र विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।