काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताको राजनीतिक उदयलाई अमेरिकी सहयोगप्राप्त संस्थाका कार्यक्रमसँग जोडेर प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले ‘द ग्रेजोन’ले हालै प्रकाशित गरेको रिपोर्टबारे पटक–पटक प्रश्न गरेका थिए। तर वाग्लेले उक्त विषयमा कुनै प्रतिक्रिया नदिई आफ्नो सवारीतर्फ अघि बढेका थिए।
पत्रकारहरूले रिपोर्टमा प्रधानमन्त्री शाह, रास्वपा सभापति लामिछाने तथा अन्य राजनीतिक व्यक्तिको नाम जोडिएको उल्लेख गर्दै त्यसमा आएको विवरण सत्य हो वा गलत भन्नेबारे अर्थमन्त्रीको धारणा मागेका थिए।
तर वाग्लेले न त रिपोर्टको समर्थन गरे, न त्यसलाई अस्वीकार गर्दै कुनै टिप्पणी नै गरे।
अमेरिकी अनलाइन प्रकाशन ‘द ग्रेजोन’ले सेप्टेम्बर ९ मा प्रकाशित एक रिपोर्टमा ‘लिक’ भनिएका दस्तावेज उद्धृत गर्दै अमेरिकी सरकारबाट आर्थिक सहयोग प्राप्त Consortium for Elections and Political Process Strengthening (CEPPS) अन्तर्गतका कार्यक्रमले नेपालका युवा तथा उदीयमान राजनीतिक व्यक्तिसँग काम गरेको दाबी गरेको छ। रिपोर्टमा रवि लामिछाने, बालेन शाह, सागर ढकाल र सुदन गुरुङलगायतको नाम उल्लेख गरिएको छ।
तर रिपोर्टले प्रस्तुत गरेका विवरण तथा त्यसबाट निकालिएका राजनीतिक निष्कर्ष स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्। कुनै प्रशिक्षण वा नागरिक नेतृत्व कार्यक्रममा व्यक्तिको सहभागिता भएको तथ्यले मात्रै उसको पछिल्लो राजनीतिक उदय वा निर्वाचन सफलतामा बाह्य पक्षको निर्णायक भूमिका थियो भन्ने निष्कर्ष स्वतः स्थापित गर्दैन।
यही विषयमा पत्रकारहरूले अर्थमन्त्री वाग्लेसँग स्पष्टीकरण खोजेका थिए। उनी भने प्रश्न सुनेर पनि सार्वजनिक टिप्पणी नगरी सरकारी गाडीमा चढेर मन्त्रालय परिसरबाट बाहिरिएका थिए।
‘द ग्रेजोन’को रिपोर्टपछि यसमा नाम जोडिएका राजनीतिक नेतृत्व तथा सम्बन्धित निकायबाट आउने औपचारिक प्रतिक्रिया र रिपोर्टमा उल्लेख गरिएका दस्तावेजको स्वतन्त्र प्रमाणीकरण महत्वपूर्ण हुने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।