काठमाण्डौ । बुधबारको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.८० प्रतिशत अर्थात २१.१९ अंकले घटेर २ हजार ६१२.४२ विन्दुमा झरेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८० प्रतिशतले घटेर ४६३.६८ विन्दुमा सीमित बनेको छ ।
आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ३८ करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ८ अर्ब २९ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘अर्थमन्त्रीले पूँजीबजार सुधारको लागि ल्याएको २१ बुँदे प्याकेजले लगानीकर्ताहरु उत्साहित भई हिजो बजार राम्रो बढेको थियो । तर पछिल्लो समय बजारमा ट्रेडर हाबी छन् । थोरै–थोरै नाफा खाएर सेयर बेच्ने सेलर धेरै भएका कारण आज बजारमा करेक्सन देखिएको हो ।’
उनले थपे, ‘साथै अब उक्त २१ बुँदे नीति कार्यान्वयन हुुन्छ वा हुँदैन भन्ने पर्खाइमा लगानीकर्ता छन् । यसबाहेक क्यापिटल गेन ट्याक्सको कुरामा लगानीकर्ता अझै अन्योल छन् । समग्रमा हेर्दा बजार बढ्नका लागि पोजेटिभ पक्षहरु छन् तर लगानीकर्तामा धेर्यता नहुँदा बजार दिगो बन्न सकिरहेको छैन । सरकारले अब बैंकहरुलाई सेयरबजारमा लगानी गर्ने वातावरण र एनआरएनलाई चाँडै भित्र्याउने हो भने बजार अवश्य माथि जाने देखिन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक घट्यो। यो समूह आज १.०४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.६३, विकास बैंक ०.७३ प्रतिशत, फाइनान्स ०.७६, होटल ०.८५, लगानी ०.८१, जीवन बीमा १.०१, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त ०.८२, म्युचुअल फण्ड ०.६४, निर्जीवन बीमा ०.९१, अन्य ०.८७ र व्यापार ०.७० प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज हिमाल दोखला हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३७ करोड ९५ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलयान्स स्पीनिङ मिल्सको २५ करोड १० लाख, शिवम् सिमेन्टको १६ करोड ५७ लाख, सोलु हाईड्रोको १५ करोड ७ लाख र लिबर्टी इनर्जीको १४ करोड ६८ लाख बढीको सेयर कारोबार भयो।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ६.३७ प्रतिशतले बढ्यो । यस्तै हिमाल दोलखा हाईड्रोको सेयरमूल्य ५.३१ प्रतिशत, माउन्ट एभेरेष्ट पावरको ४.३८ र कालिका लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशतले बढ्यो ।
यो दिन रिजलाइन इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ५.२१ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।