काठमाण्डौ । चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्य वृद्धि र अभावको गुनासो बढिरहेका बेला सरकारले काठमाण्डौ उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमै चिनी उपलब्ध गराउने व्यवस्था गरेको छ। उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रमार्फत उपभोक्ताले सहज रूपमा चिनी पाउने व्यवस्था गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकपछि यस्तो व्यवस्था गरिएको हो। विभागका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत खुद्रा तथा थोक व्यापारीलाई प्रतिकेजी १०५ रुपैयाँमा चिनी उपलब्ध गराइनेछ भने व्यापारीले उपभोक्तालाई अधिकतम ११० रुपैयाँमा बिक्री गर्नुपर्नेछ।
नेपाल खुद्रा व्यापार संघ, नेपाल खाद्य किराना तथा थोक संघ, भाटभटेनी सुपरमार्केट, बिगमार्ट र सेल्सबेरीलगायतका बिक्री केन्द्रबाट चिनी ११० रुपैयाँ प्रतिकेजीमा उपलब्ध हुने मन्त्रालयले जनाएको छ।
सरकारका अनुसार नेपालमा वार्षिक करिब तीन लाख मेट्रिक टन चिनीको माग हुन्छ। स्वदेशी उद्योगबाट करिब एक लाख मेट्रिक टन मात्र उत्पादन हुने भएकाले बाँकी परिमाण आयातमा निर्भर रहनुपर्छ।
पछिल्लो समय भारतले आफ्नै बजारमा आपूर्ति व्यवस्थापन गर्न चिनी निर्यातमा कडाइ गरेपछि नेपालमा आयात प्रभावित भएको सरकारी अधिकारीहरूको भनाइ छ। यही कारण चाडपर्वको मुखमा बजारमा चिनीको आपूर्तिमा दबाब परेको हो।
सरकारले आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भारतबाट एक प्रतिशत भन्सार दरमा २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाली उद्योगबाट २० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरिएको छ।
सरकारका अनुसार यी दुवै स्रोतबाट गरी ४५ हजार मेट्रिक टन चिनीको व्यवस्थापन भएपछि कात्तिकसम्म बजारको माग धान्न सकिनेछ। त्यसपछि स्वदेशी उद्योगबाट नयाँ उत्पादन बजारमा आउन थाल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।