काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा खेल मिलेमतो, आर्थिक अनियमितता, जर्सी तथा खेल सामग्री खरिददेखि विश्वकप टिकट बिक्रीसम्मका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानपछि एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका छन्। सीआईबीका अनुसार एन्फाका अन्य केही पदाधिकारीसमेत अनुसन्धानको दायरामा रहेका छन्।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पक्राउ परेका दुवै जनामाथि खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताएका छन्।
जिल्ला अदालत ललितपुरले उनीहरूलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। यस अवधिमा थप बयान लिने, सोधपुछ गर्ने र प्राप्त प्रमाणको विश्लेषण गर्ने काम हुने प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा बयान तथा अन्य प्रमाणबाट संलग्नता देखिएका थप व्यक्तिलाई समेत छानबिनको दायरामा ल्याउने सीआईबीको तयारी छ।
एन्फाभित्र अनियमितता भएको भन्दै यसअघि पनि पटक–पटक प्रश्न उठ्दै आएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र संसद्को सार्वजनिक लेखा समितिसम्म यस विषयमा उजुरी पुगेका थिए।
२२ पुस २०७५ मा सार्वजनिक लेखा समितिमा उजुरी परेपछि अख्तियारले खेलकुद मन्त्रालयलाई छानबिन गर्न पत्राचार गरेको थियो। त्यसपछि मन्त्रालयका तत्कालीन सहसचिव अरुणप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।
पछिल्लो समय पुनः उजुरी परेपछि सीआईबीले राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त विवरण र अर्को जाहेरीसमेतका आधारमा अनुसन्धान अघि बढाएको जनाइएको छ।
अनुसन्धानकै क्रममा सीआईबीले शुक्रबार ललितपुरस्थित एन्फा कार्यालयमा छापा मारेको थियो। प्रहरीले कार्यालयबाट ल्यापटप, चार वटा सीपीयू लगायतका विद्युतीय उपकरण बरामद गरी अनुसन्धानका लागि लगेको छ।
होम एन्ड अवे’ खेलमाथि पनि प्रश्न
सीआईबीको प्रारम्भिक अनुसन्धानमा फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपाल र बहराइनबीच हुनुपर्ने ‘होम एन्ड अवे’ खेल दुवै बहराइनमै खेलाइएको विषयसमेत अनुसन्धानमा परेको छ।
सामान्यतः एउटा खेल नेपाल र अर्को बहराइनमा हुनुपर्ने भए पनि दुवै खेल बहराइनमै आयोजना गरिएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ। त्यसक्रममा आर्थिक चलखेल भएको हुन सक्ने आशंकामा सीआईबीले थप अनुसन्धान गरिरहेको छ।
तर एन्फा सम्बद्ध पदाधिकारीहरूले काठमाडौंको दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएको ठहर एसियाली फुटबल महासंघले गरेपछि नेपालमा खेल गराउन नसकिएको जिकिर गर्दै आएका छन्।
नेपाल र बहराइनबीचका दुवै खेल बहराइनको नेसनल स्टेडियममा भएका थिए। पहिलो खेलमा नेपाल ५–० गोलअन्तरले पराजित भएको थियो भने अर्को खेलमा नेपाल ३–० ले पराजित भएको थियो।
त्यसअघि छनोट चरणमा नेपाल यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।
जर्सी र खेल सामग्री खरिद पनि अनुसन्धानमा
एन्फाका पदाधिकारीमाथि जर्सी तथा प्लेइङ किट खरिदमा समेत अनियमितता भएको आरोप लागेको छ।
सीआईबीका अनुसन्धान अधिकृतका अनुसार केल्मी र केटीएम सिटी ब्रान्डका खेल पोसाक तथा सामग्री खरिदसम्बन्धी प्रक्रियामाथि पनि जाँच भइरहेको छ।
खरिद प्रक्रिया, मूल्य, आपूर्तिकर्ता छनोट र भुक्तानीसँग सम्बन्धित कागजात तथा विवरणको अध्ययन भइरहेको बताइएको छ।
विश्वकप टिकट बिक्रीसम्म पुग्यो अनुसन्धान
अमेरिकामा भएको फिफा विश्वकप २०२६ का टिकट बिक्रीसम्बन्धी विषय पनि सीआईबीको अनुसन्धानमा परेको छ।
फिफाबाट एन्फालाई प्राप्त टिकट तोकिएको विधि र प्रक्रियाअनुसार बिक्री नगरिएको आरोपबारे अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ।
अनुसन्धान अधिकृतहरूका अनुसार विश्वकप टिकट कसरी वितरण र बिक्री गरियो, कसलाई उपलब्ध गराइयो तथा त्यसबाट प्राप्त रकमको हिसाबकिताब कसरी राखियो भन्ने विषयमा समेत प्रमाण संकलन भइरहेको छ।
हालसम्म पक्राउ परेका व्यक्तिमाथि आरोप प्रमाणित भइसकेको भने छैन। सीआईबीले प्राप्त कागजात, विद्युतीय सामग्री, बयान र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।