काठमाण्डौ । नेपाल टेलिकमले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै राहत तथा सञ्चार सेवामा थप सुविधा उपलब्ध गराउने भएको छ।
कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित क्षेत्रसँगै पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका प्रत्यक्ष प्रभावित नागरिकलाई विभिन्न सञ्चार सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।
बाढीका कारण क्षतिग्रस्त भई पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका एनटी फाइबर केबल तथा राउटर कम्पनीले निःशुल्क उपलब्ध गराई पुनः जडान गर्ने जनाएको छ। यस्तै, एनटी फाइबर सेवा प्रयोग गरिरहेका प्रभावित ग्राहकको सेवा अवधि समाप्त भएको अवस्थामा तीन महिनाको समयावधि निःशुल्क थप गरिनेछ।
बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा रहेको सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था पनि गरिएको छ। यसका लागि ग्राहकले सम्पर्क गरिएका पाँचवटा नम्बर उपलब्ध गराउनुपर्नेछ। ती नम्बरको ‘लास्ट लोकेसन’ बाढी प्रभावित क्षेत्रमा रहेको हुनुपर्ने तथा सम्बन्धित नम्बरको केवाईसी विवरण यथाशीघ्र अद्यावधिक गर्नुपर्ने कम्पनीले जनाएको छ।
बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्डसमेत उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रका ग्राहकका लागि विशेष प्याकेजसहित उपलब्ध गराइएका ती सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आईडीएमसीमा रहेको मुख्य सर्भर र प्राधिकरणकै ब्याकअप सर्भरबीच निःशुल्क कनेक्सन स्थापना गर्न ‘डार्क फाइबर–फिजिकल कनेक्टिभिटी’ समेत उपलब्ध गराएको छ।
बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा उपलब्ध गराउँदै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी–नेपाल) को नाममा जडान गरिएको टोल फ्री नम्बर १८१०५०००४०२ को तीन महिनासम्मको मासिक बिल पनि निःशुल्क गरिएको छ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवं प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत संकलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको छ।
जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन युनिटका लागि एक वर्षसम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।
त्यस्तै, रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रबाट प्राप्त हुने सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो तथा भिडियो लगायतका तथ्यांक समयमै संकलन र प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षसम्म उच्च गतिको निःशुल्क इन्टरनेट सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकिएको छ।
बाढीका कारण कम्पनीको करोडौं रुपैयाँ बराबरको दूरसञ्चार पूर्वाधारमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र सञ्चार सेवा पुनःस्थापनाको काम निरन्तर जारी रहेको नेपाल टेलिकमले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।