काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेट भएको पुष्टि गर्दै यसलाई नियमित भेटघाटको रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार प्रधानसेनापति सिग्देल हालै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका थिए। सोही भ्रमणका विषयमा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहलाई जानकारी गराउन भेट भएको हो। प्रधानसेनापति सिग्देल चीन भ्रमण सकेर असोज ३ गते स्वदेश फर्किएको सार्वजनिक विवरणमा उल्लेख छ।
सेनाले उक्त भेटलाई प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ महासभा भ्रमणसँग जोडेर नहेर्न आग्रह गरेको छ।
‘प्रधानमन्त्रीज्यू स्वयं रक्षामन्त्रीसमेत रहनुभएकाले यस्ता भेटघाट नियमित रूपमा भइरहन्छन्,’ प्रवक्ता बस्नेतको भनाइ छ।
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच यसअघि पनि विभिन्न सुरक्षा तथा समसामयिक विषयमा नियमित भेटवार्ता हुँदै आएको छ। गत भदौमा भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत व्यवस्थापनबारे समेत प्रधानमन्त्री शाहले प्रधानसेनापति सिग्देलसँग ब्रिफिङ लिएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।