काठमाण्डौ। अमेरिकाको ओक्लाहोमा र अर्कान्सस राज्यको आकाशमा सानो विमानको उडान मार्ग प्रयोग गरेर विश्वप्रसिद्ध चित्रकला ‘मोना लिसा’को आकृति बनाइएको छ। लियोनार्दो दा भिन्चीको चर्चित कलाकृतिलाई विमानको उडानमार्फत आकाशमा पुनः सिर्जना गरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सेप्टेम्बर १८ को बिहान अर्कान्ससको बेन्टनभिलबाट उडेको विमानले करिब चार घण्टा आकाशमा उडान भर्दै जटिल मार्ग तय गरेको थियो। उडानका क्रममा विमानले बनाएको मार्गलाई डिजिटल रूपमा जोड्दा ‘मोना लिसा’को आकृति देखिएको हो।
एयरनेभ राडारले सार्वजनिक गरेको थ्रीडी उडान–मार्ग दृश्यमा विमानको यात्रा क्रमशः कसरी कलाकृतिको आकारमा परिणत भयो भन्ने देखाइएको छ। उक्त विमान सेस्ना आर१८२ स्काइल्यान आरजी मोडलको रहेको जनाइएको छ।
विमानका चालक बेन्जामिन म्याकडानियल रहेको बताइएको छ। उनी पाइलटका साथै कलाकारका रूपमा समेत परिचित छन्। उनले यसअघि पनि विमानको उडान मार्ग प्रयोग गरेर विभिन्न आकृति तथा कलाकृति सिर्जना गर्दै आएका छन्।
म्याकडानियलले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ‘द पाइलट पिकासो’मार्फत यस्ता आकाशे कलाकृतिका दृश्यहरू नियमित रूपमा सार्वजनिक गर्दै आएका छन्। पछिल्लो पटक ‘मोना लिसा’को आकृति बनेपछि उक्त उडान सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।