काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री शाह मंगलबार साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार उनी साँझ ७ बजे कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्नेछन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यतालिका छ।
राष्ट्रपति कार्यालयको पछिल्लो मन्त्रिपरिषद् विवरणअनुसार डा. वाग्ले अर्थमन्त्रीको जिम्मेवारीमा छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।