काठमाण्डौ । अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बिहीबार बहुवर्षीय उच्चस्तर नजिक पुगेको छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी बैठकमा पुनः ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा बलियो बनेपछि लगानीकर्ताले सरकारी ऋणपत्र बिक्री बढाएका हुन्।
३० वर्षे अमेरिकी ट्रेजरी बन्डको यिल्ड ३ आधार अंकभन्दा बढीले बढेर ५.४३५ प्रतिशत पुगेको छ। कारोबारका क्रममा यो ५.४४ प्रतिशतसम्म पुगेको थियो, जुन सन् २००४ यताकै उच्च स्तर हो।
त्यस्तै, धितो कर्जालगायत ऋणको ब्याजदर निर्धारणमा महत्वपूर्ण मानिने १० वर्षे ट्रेजरी नोटको यिल्ड पनि बढेर ५.१३३ प्रतिशत पुगेको छ। यो जुलाई २००७ यताकै उच्च स्तर हो।
दुई वर्षे ट्रेजरी नोटको यिल्ड भने सामान्य रूपमा घटेर ४.८७९ प्रतिशत पुगे पनि यो सन् २०२३ यताकै उच्चस्तर आसपास रहेको छ।
अमेरिकी बन्ड बजारमा देखिएको दबाब अन्य प्रमुख अर्थतन्त्रका ऋणपत्र बजारमा समेत फैलिएको छ। जापानको १० वर्षे सरकारी बन्डको यिल्ड सन् १९९६ को अगस्टयताकै उच्च स्तरमा पुगेको छ। बेलायतका गिल्ट तथा जर्मनीका बन्डको यिल्ड पनि बढेको छ भने युरोपका विभिन्न मुलुकका सरकारी ऋणपत्रको प्रतिफल बहुवर्षीय उच्चमा पुगेको छ।
बुधबारदेखि सुरु भएको अमेरिकी ट्रेजरी बजारको बिक्री दबाब बिहीबार पनि कायम रहेको हो। बुधबार १० वर्षे ट्रेजरी यिल्डमा एकै दिन सन् २०२५ को अप्रिल ७ यताकै ठूलो वृद्धि भएको थियो।
अमेरिकी अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको देखाउने तथ्यांक, फेडरल रिजर्भका अधिकारीहरूको तुलनात्मक रूपमा कडा मौद्रिक नीतिको संकेत तथा उच्च तेल मूल्यले लगानीकर्तामाझ आगामी दिनमा ब्याजदर अझ बढ्न सक्ने अनुमान बलियो बनाएको छ।
म्याडिसन इन्भेस्टमेन्ट्सका फिक्स्ड इन्कम प्रमुख माइक स्यान्डर्सका अनुसार वित्तीय नीति, आर्थिक अवस्था, भूराजनीतिक जोखिम र आपूर्तिपक्षीय मुद्रास्फीतिको दबाब एकैपटक देखिन थालेकाले बन्ड बजार असामान्य अवस्थातर्फ गएको छ।
उनले पछिल्लो समय बन्डको यिल्ड बढ्नुको कारणलाई केवल अमेरिकी बजेट घाटासँग मात्र जोडेर हेर्न नमिल्ने बताएका छन्।
अमेरिकी आर्थिक तथ्यांक र फेड अधिकारीहरूको पछिल्लो अभिव्यक्तिपछि आगामी अक्टोबरको बैठकमा फेडरल ओपन मार्केट कमिटी ९ँइःऋ० ले पुनः ब्याजदर बढाउने सम्भावना पनि बढेको छ।
फेडरल रिजर्भ बोर्डका सदस्य माइकल बारले बुधबार दिएको मन्तव्यमा मुद्रास्फीतिलाई लक्षित तहमा ल्याउन थप मौद्रिक नीतिगत समायोजन आवश्यक पर्न सक्ने संकेत दिएका थिए।
यस्तै, न्यूयोर्क फेडरल रिजर्भका अध्यक्ष जोन विलियम्सले बिहीबार लन्डनमा बोल्दै वर्षको अन्त्यसम्म फेडले थप एकपटक ब्याजदर वृद्धि गर्नु ‘उचित अपेक्षा’ हुन सक्ने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।