काठमाण्डौ । सरकारले दैनिक उपभोगका अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै आवश्यकता भन्दा बढी वस्तु सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रिय खाद्य सुरक्षा भण्डार तथा सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो।
मन्त्रालयका अनुसार बाढी, पहिरो वा अन्य विपद्का कारण प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिइनेछ।
चाडपर्व तथा विपद्को अवस्थालाई अवसर बनाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कार्टेलिङ तथा सिन्डिकेट गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र वस्तु लुकाउनेजस्ता गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई सघन बनाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा उपभोक्तालाई अनावश्यक रूपमा अत्यावश्यक वस्तु सञ्चय नगर्न आग्रह गर्दै बजारमा कुनै असामान्य अवस्था देखिएमा सम्बन्धित निकायमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।