काठमाण्डौ । नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत राजनीतिक तथा सुरक्षा दृष्टिकोणमा मात्र सीमित नराखी प्रविधि, आर्थिक विकास, पूर्वाधार, युवा सहभागिता र आपसी हितमा आधारित साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज (सीपीएस) को संयुक्त आयोजनामा सोमबार ललितपुरको हात्तीवनमा सम्पन्न ‘नेपाल–भारत सम्बन्धका बदलिँदा आयाम’ विषयक छलफलमा सहभागी विज्ञहरूले द्विपक्षीय सम्बन्धका परम्परागत चुनौतीसँगै नयाँ सम्भावनाबारे विचार प्रस्तुत गरेका हुन्।
कार्यक्रममा नेपाल–भारत सम्बन्धको बदलिँदो स्वरूप, क्षेत्रीय भूराजनीतिक परिस्थिति, प्रविधिको बढ्दो प्रभाव तथा दुई देशबीच सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे छलफल भएको थियो।
राज्यकेन्द्रित सम्बन्धभन्दा जनताको हितलाई प्राथमिकता दिन सुझाव
सीपीएसका अध्यक्ष डा. अशोक के. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई राज्यकेन्द्रित र सुरक्षामुखी दृष्टिकोणबाट मात्रै हेर्ने परम्पराबाट बाहिर निकाल्नुपर्ने बताए।
उनले दुई देशका नागरिकलाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए।
भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रमबारे चर्चा गर्दै बेहुरियाले औपनिवेशिक विरासतले छिमेकी मुलुकसँगको सम्बन्धमा पारेको प्रभाव र त्यसबाट बाहिर निस्कने प्रयासबारे धारणा राखे।
उनले भारतका पूर्वप्रधानमन्त्री आईके गुजरालले अघि सारेको ‘गुजराल सिद्धान्त’ उल्लेख गर्दै साना छिमेकी मुलुकसँग प्रतिफलको अपेक्षाविना सहयोग गर्ने अवधारणाको महत्व औँल्याए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा छिमेकी देशहरूप्रतिको दृष्टिकोणमा आएको परिवर्तनबारे चर्चा गर्दै उनले क्षेत्रीय स्थायित्व र विकासका लागि पारस्परिक हितमा आधारित सम्बन्ध आवश्यक रहेको बताए।
प्रधानमन्त्रीको भारत भ्रमणले पुराना समस्या समाधान गर्ने अवसर
सीपीएसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायकले नेपालका प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने अवसर बन्न सक्ने बताए।
उनले नेपाल र भारतबीच विकास, पूर्वाधार निर्माण, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गरे।
तर दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।
विशेषगरी सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता विषयलाई उनले द्विपक्षीय सम्बन्धका महत्वपूर्ण चुनौतीका रूपमा औँल्याए।
नायकका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणले नेपाललाई आफ्ना विकास प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्ने र आपसी विश्वास बढाउने अवसर दिन सक्छ।
उनले दुवै देशले एकअर्काका चासो र प्राथमिकतालाई सम्मान गर्दै सहकार्य अघि बढाउन सके पारस्परिक लाभ हासिल गर्न सकिने बताए।
एआई र साइबर सुरक्षा अब कूटनीतिक सम्बन्धका नयाँ मुद्दा
कार्यक्रममा प्रविधि उद्यमी सिक्सित भट्टले बदलिँदो विश्व परिस्थितिमा प्रविधि अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधार बन्दै गएको बताए।
उनले सेमिकन्डक्टर आपूर्ति शृङ्खला, कृत्रिम बौद्धिकता (एआई) र अन्य महत्वपूर्ण प्रविधिगत पूर्वाधारमा सीमित नियन्त्रण भएका कारण नेपाल र भारत दुवै जोखिममा पर्न सक्ने धारणा राखे।
भट्टले एआई, साइबर सुरक्षा र डिजिटल पूर्वाधारका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार प्रविधि अब आर्थिक विकासको साधन मात्र नभई कूटनीति र सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय बनिसकेको छ।
त्यसैले नेपाल–भारत प्रविधि सहकार्यलाई प्रविधि खरिद वा प्रयोग गर्ने तहमा मात्र सीमित नराखी संयुक्त रूपमा अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकास गर्ने दिशामा अघि बढाउनुपर्ने उनको सुझाव थियो।
युवा सहभागिताविना द्विपक्षीय सम्बन्ध बलियो नहुने
नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले नेपाल र भारतबीचको सम्बन्धको भविष्य निर्माणमा युवा पुस्ताको भूमिका निर्णायक हुने बताए।
उनले दुवै देशको जनसंख्यामा युवाहरूको ठूलो हिस्सा रहेको उल्लेख गर्दै उनीहरूको विचार र सहभागितालाई द्विपक्षीय नीति निर्माणमा समेट्नुपर्नेमा जोड दिए।
थापाका अनुसार नेपालका वर्तमान युवाहरू अघिल्ला पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रासबाट प्रभावित छैनन्।
नयाँ पुस्ताको प्राथमिकता भूराजनीतिक प्रतिस्पर्धा वा शक्ति संघर्षभन्दा देशको विकास, आर्थिक अवसर र समृद्धिमा केन्द्रित रहेको उनको भनाइ थियो।
उनले युवा पुस्ताको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न सक्ने सम्बन्धले मात्रै नेपाल र भारतबीच दीर्घकालीन विश्वास र सहकार्यको आधार बलियो बनाउन सक्ने बताए।
नाइस नेपाल र सीपीएसबीच समझदारीपत्रमा हस्ताक्षर
कार्यक्रमको अन्त्यमा नाइस नेपाल र सीपीएसबीच संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
दुई संस्थाबीच आपसी आदानप्रदान, अनुसन्धान तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई परम्परागत कूटनीतिक विषयसँगै प्रविधि, युवा सहभागिता, विकास र क्षेत्रीय सहकार्यका नयाँ आयामबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।