काठमाण्डौ । काठमाण्डौ आवतजावतका लागि प्रमुख सडकका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङ नजिक धारापानीमा सडक भाँसिएपछि यातायात अवरुद्ध भएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान करिब ६ः१५ बजे सडक भाँसिएको हो। सडक भाँसिएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार सुरुमा साना सवारीसाधन र मोटरसाइकल सञ्चालन गर्न सकिने अवस्था थियो। तर, एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका बेला सडकको थप भाग भाँसिएपछि आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।
सडकको अवस्था थप बिग्रिएपछि यातायात व्यवस्थापनका लागि घटनास्थलमा ट्राफिक प्रहरीसहित अन्य प्रहरी टोली परिचालन गरिएको डीएसपी यादवले जानकारी दिए।
सडक भाँसिएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं तथा चितवनतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।