काठमाण्डौ । सेती नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि पोखराको रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदीको जलसतह बढेपछि डुबानको जोखिम बढेको भन्दै सुरक्षाकर्मीले शनिबार रामघाट क्षेत्रमा माइकिङ गरेका हुन्।
नदीको बहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई घरबाट अत्यावश्यक सामान तथा महत्वपूर्ण कागजात लिएर सुरक्षित स्थानतर्फ जान सुरक्षाकर्मीले अनुरोध गरेका छन्।
स्थानीयलाई सम्भावित जोखिमबाट जोगाउन गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिरलाई सुरक्षित स्थानका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै सेती नदीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारहरूमा जोखिमको त्रास बढेको छ। प्रशासनले सम्भावित विपद्लाई ध्यानमा राख्दै नदी किनारका बस्तीमा निगरानी बढाएको छ।
यसैबीच, प्रशासनले नदी किनारमा अनावश्यक रूपमा नजान र जलसतह तथा बहावको अवस्था हेर्न नदीमा जाने वा नजिक पुग्ने काम नगर्न आग्रह गरेको छ। आपत्कालीन अवस्था सिर्जना भए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।