काठमाण्डौ । यस वर्षको मनसुन पश्चिम नेपालबाट बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागमा मनसुनी प्रभाव हट्दै गए पनि देशभर वर्षायामको प्रभाव भने अन्त्य भइसकेको छैन।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार असोज १७ गतेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानबाट मनसुन बाहिरिएको छ। गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन हटेको महाशाखाले जनाएको छ।
योसँगै नेपालमा यस वर्षको मनसुन बहिर्गमन सुरु भएको हो। तर, पश्चिममा मनसुन हट्दैमा देशभर तत्काल आकाश खुल्ने र वर्षा रोकिने अवस्था भने छैन। शनिबारको पूर्वानुमानमा कोसी, बागमती, गण्डकी र लुम्बिनीका केही भूभागमा अझै वर्षाको सम्भावना देखाइएको छ।
मनसुन नेपालबाट एकैपटक बाहिरिँदैन। पश्चिमी क्षेत्रबाट क्रमशः कमजोर हुँदै यो प्रणाली पूर्वतर्फ सर्छ र अन्ततः कोसी प्रदेशबाट बाहिरिन्छ। त्यसैले पश्चिमी भूभागमा मनसुनी प्रभाव हटिसक्दा पनि मध्य र पूर्वी क्षेत्रमा केही दिनसम्म यसको प्रभाव रहन सक्छ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो। यसपटक त्यसको भोलिपल्ट अर्थात् अक्टोबर ३ देखि पश्चिमी भूभागमा बहिर्गमन सुरु भएको छ। यद्यपि, औसत मितिले प्रत्येक वर्ष मनसुन अन्त्य हुने निश्चित दिन जनाउँदैन। देशभरबाट मनसुन पूर्ण रूपमा बाहिरिने मिति मौसमी प्रणालीको अवस्थाले निर्धारण गर्छ।
यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा ६ दिन ढिला भित्रिएको थियो। सामान्यतः जुन १३ मा प्रवेश गर्ने मनसुन यसपटक जुन १९ अर्थात् असार ५ गते कोसी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि क्रमशः पश्चिमतर्फ फैलिँदै जुन ३० अर्थात् असार १६ गते सुदूरपश्चिमसम्म पुगेपछि देशभर मनसुन सक्रिय भएको थियो।
शनिबार कहाँ–कहाँ पानी पर्ने सम्भावना ?
महाशाखाको पूर्वानुमानअनुसार शनिबार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। यी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। मधेस प्रदेश तथा कोसी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति भने कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। यी तीन प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। अन्य प्रदेशमा आंशिक बदली रहने तथा तराईका क्षेत्रमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।
मनसुनी प्रभाव घट्दै गएसँगै मौसम वर्षायामबाट शरदकालीन अवस्थातर्फ अघि बढ्नेछ। नेपालमा अक्टोबर र नोभेम्बरलाई पोस्ट–मनसुन, डिसेम्बरदेखि फेब्रुअरीसम्मलाई हिउँद तथा मार्चदेखि मेसम्मलाई प्रि–मनसुन अवधि मानिन्छ। तर, मनसुनको बहिर्गमनलाई वर्षा पूर्ण रूपमा बन्द हुने संकेतका रूपमा बुझ्न मिल्दैन। स्थानीय मौसमी गतिविधि तथा अन्य प्रणालीका कारण त्यसपछि पनि पानी पर्न सक्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।