काठमाण्डौ । सीप सिक्न र रोजगारी खोज्न चाहने ग्रामीण युवालाई अवसरसँग जोड्न इटहरीमा सञ्चालित सीप तथा रोजगार मेलाको पहुँच स्थानीय तहसम्म विस्तार गरिएको छ। मेलाअन्तर्गत रोजगार मिलानका लागि रोजगारदाता स्थानीय तहमै पुग्ने र युवालाई मेला स्थलसम्म आउन सहजीकरण गर्ने काम अघि बढाइएको हो।
‘सीप र रोजगारी: साझा जिम्मेवारी’ मूल नारासहित युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेलामार्फत कोशी प्रदेशका जिल्ला तथा स्थानीय तहसम्मका युवालाई अवसर उपलब्ध गराउने उद्देश्य राखिएको छ।
रोजगार मिलान कार्यक्रमअन्तर्गत मन्त्रालयका प्रतिनिधि र अरियन्ट कम्पनीका मानव संसाधन विभाग प्रमुख बेलका नगरपालिका पुगेका छन्। स्थानीय युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले नगरपालिकामै कार्यक्रम गरिएको हो।
यस पहलमार्फत रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच स्थानीय स्तरमै सम्पर्क गराउँदै सीप तथा रोजगारीका अवसर ग्रामीण क्षेत्रसम्म पुर्याउने प्रयास गरिएको छ।
सीप सिक्न तथा रोजगारीमा जोडिन इच्छुक देवानगञ्ज, बर्जु, इनरुवा, रंगेलीलगायत क्षेत्रका युवालाई इटहरीस्थित मेला स्थलसम्म आउन सहजीकरण गरिएको छ।
इटहरीस्थित सोल्टी होटेलको प्राङ्गणमा असोज १४ गते सुरु भएको सीप तथा रोजगार मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।